Blog Single

सन्दर्भ—१ 
गत वर्ष तीज विशेष सांगीतिक शोका लागि जापान जाने कार्यक्रम थियो । कार्यक्रमका लागि सबै बन्दोबस्ती मिलाएर विमानस्थलतर्फ लाँगे । प्रधानमन्त्रीको सवारी रहेछ । वानेश्वरमा झण्डै एक घण्टा लामो जाममा फसें । प्रधानमन्त्रीको सवारी भयो । सवारी पछि सर्वसाधारण नागरिकका लागि बाटो खुल्यो तर सुरू भयो जाम । 

मेरो फ्लाइटको समय छुट्न लाग्यो तर जाम खुलेन । गाडीमा रहेकी मैले भाइलाई बाइक लिएर आउन भनें । भाइले बाइक लिएर आयो । बाइकको पछाडी ग्रहुँगो लगेज काखमा बोकेर हस्याङ् फस्याङ् गर्दै विमानस्थल पुँगे । कम्तिमा आफन्तसँग बाइक भएकाले विमान छुटेन । 

सन्दर्भ—२  
गाएकी पेशा भएकाले गीत गाउनका लागि घरबाट निस्किरहनुपर्छ । स्टुडियो सँधै एउटै हुँदैन । प्रायः पटकै पिछे फरक फरक हुन्छ । संगीत, एरेन्ज्मेन्ट र अभ्यासका लागि एउटै गीतका लागि दर्जनौं पटक स्टुडियो धाउनुपर्छ । 

व्यावसायिक प्रयोजनका लागि खोलिएका स्टुडियोमा क्यूमा बस्नुपर्छ । क्यूमा बसेर काम गर्नुपर्छ । तर, काठमाडौंको जामले सँधै समयमै पुगिदैन । सँधै समयमै नपुग्नु मेरो कमजोरी पनि होला । यसर्थ की, जामैजामको शहर काठमाडौंमा केही समय अगाडि नै निष्किनु बुद्धिमानी होला । पछिल्लो समय म स्टुडियो मात्रै होइन हरेक काममा निर्धारित समयभन्दा चाँडै निष्किन्छु । यो मेलै मात्रै होइन, लाग्छ सबै यसै गर्नुहुन्छ । 

० ० ०

जाम हुन्छ । समय लाग्छ । त्यसमा हामी नागरिकले संधै त्यसै पनि गरिरहेका छौं । तर उच्च पदस्थहरुको सवारीले भने हामी नागरिकलाई सँधै हैरानी दिइरहेको छ । एक व्यक्तिको लागि लाखौं नागरिकले हैरानी भोगिरहनु परेको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री लगायतकाको सवारीले दिनहुँ काठमाडौं घण्टौं जाम हुन्छ । त्यसको प्रत्यक्ष मार हामीले खेपिरहनु परेको छ । 
सुरक्षाका नजरले उहाँहरुलाई दलबलसहित हिडाउँनु उचित हुन्छ । त्यसमा म पनि सहमत हुनसक्छु । तर, एम्बुलेन्स र हस्पिटलका गाडी समेत चल्न नदिइ सवारीका लागि घण्टा अगाडिबाट रोड खाली गर्ने र पैदल यात्रुसमेतलाई बाटो काट्न नदिने प्रवृत्तिमा सहमत हुन सकिदैन । 

हामीसँगै बैकल्पिक बाटो छैन । कामका लागि समयमा पुग्नुपर्ने बाध्यता हुन्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री लगायतका मध्ये कसैनकसैको एक न एक जनाको सवारी भैरहेको हुन्छ । जाँदा र फर्किदा दुईपटक जामको मार वेहोर्नुपर्छ । जनताको मन जितेर, मत पाएर आएका जनप्रतिनिधिले सायद यो सुविधा प्रयोन गर्नुभन्दा नगरे उहाँहरुलाई राम्रो हुन्थ्यो । जनतामा राम्रो सन्देश पनि जान्थ्यो । 
म कयौं पटक विदेश गएकी छु । ति देशमा वैकल्पिक बाटा हुन्छन् । उच्चपदस्त व्यक्तिहरुको सवारीमा वैकल्पिक रोड प्रयोग गरिन्छन् । नागरिकले सास्ती वेहोर्नु पर्दैन । सवारीमा रहनेलाई यहाँ जस्तो सुरक्षा थ्रेटको उच्च सम्भावना पनि हुँदैन । 

जनताको सेवा गर्ने सपथ खाएकाहरु स्वयमले बुझ्नुपर्छ । मेरा कारणले जनतालाई सास्ती भएको छ कि सुख ? विग्रेको सडकसमेत प्रयोग गर्ने अधिकारबाट बञ्चित गर्ने अधिकार ममा छैन भन्ने नैतिक चेतना पलाउनु पर्छ । 

हुनत राम्रो सडक नबन्नुका कारण धेरै होलान् र छन् पनि । तर जनप्रतिनिधि हुन वित्तिकै आम नागरिकभन्दा माथि उठ्ने र विसाली जीवन जिउने प्रवृत्ति पनि यसको एउटा कारण हो । 
सडक खाली गराएर हिँड्नेलाई काठमाडौंको जामको पीडा के थाहा ? धुलो र पानीका पीडा के चासो । 
टालेकै भए पनि मुख्य सडक हिँड्नेलाई पिज खोज्नु पर्ने अवस्थाको पीडा के थाहा ? 

पूरै वर्ष विताएर झम झम पानीमा पीच हाल्नेसँग साँठगाँठ गरेर मोटो रकम असुल्नेहरु जनताका प्रतिनिधि हुन सक्तैनन् । जनताको काम गर्ने सच्चा अर्थमा जनप्रतिनिधि हो ।
हामीलाई जनताको सेवक चाहिएको छ । जनताको हाकिम होइन । देशको नोकर चाहिएको छ । देशको मालिक होइन । एमिग्रेशनमा गएर हेनुस् त्यहाँका सरकारी अधिकारीको व्यवाहार । व्यवाहार हैन चर्तिकला भन्दा पनि सम्मानजनक शब्द हुन्छ उनीहरुलाई । 

खाडीमा मुदिरले रगत पसिना चुसेर हाड छाला मात्र लिएर फर्किएकाहरुसँग इमिग्रेसनका कर्मचारीहरु तुच्छ व्यवाहार गरिरहेका छन् । रेमिट्यान्स भित्राउनेहरुलाई रातो कार्पेट विछ्याएर सहयोग गर्नुपर्ने सरकार उनीहरुलाई नै दुःख दिइरहेको छ । 

मलाई यो ब्लग लेख्दा लेख्दै भूपी सेरचनको कविता चोकको याद आयो र लेख्न मन लाग्यो यो पक्ति  
दिननभरी रुपियाँले टोक्छ 
रातभरी उपियाँले टोक्छ

जहाँ गए पनि वेथिति मात्रै छ । अस्तव्यस्त मात्रै छ । जसका कुरा सुने पनि फ्रस्टेसन मात्रै छ । जो सँग कुरा गरे पनि निचोड उमेरमा पलायन हुने मात्रै छ । यो सबैलाई ज्ञात छ । भुक्त भोगी हुन् सबै । 
नजअन्दाज गरेर सबै बसिरहेका छन् । स्थायी सरकार देखि अस्थायी सरकारसम्म चुप लागेर बसको छ । मौनता रोज्नुको कारण पनि सबैलाई थाहा छ । “काले काले मिलेर खाउँ भाले” । जबसम्म यो प्रवृत्तिको अन्त्य हुँदैन तबसम्म न देश बन्छ । न नागरिकले सुख पाउँछन् । 

गणतन्त्रमा पनि नागरिक जनता नै रहिरहन्छन् । भुरे टाकुरे शासक मोटाइ रहन्छन् ।  (ब्लग)