Blog Single

गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली
जय जय जय नेपाल सुन्दर शान्त नेपाल

गण्डकी कोशी कर्णाली मेची र महाकाली
लेक र बेंसी ब्युँझाउँछन् लहर लाख उचाली
हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली

सीताले सारा भिजाइन दक्षिण लंका भारत
भृकुटी तारा उदाइन उत्तर चीन तिब्बत
बुद्धले यहीं पाएथे ज्ञानको पहिलो मुहान
शिबले यहीं ल्याएथे सृष्टिको पहिलो बिहान

पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
हामीले हिमाल उठायौं एशियाको माझमा
सभ्यता बास बसेथ्यो आएर यहीं साँझमा

यही नेपाली माटोमा दिलको फूल रोपेर
यही पहाडी शिलामा पृतको गीत खोपेर
बाँचौला हामी नेपालमा चन्द्र र सूर्य ध्वाजा लिई
नाँचौंला हामी हिमालमा ज्योतिको पंख उचाली

* * *
मलाई मेरो यो पटकको मध्ये तथा सुदुर पश्चिमको सांगीतिक यात्राले राष्ट्रकवी माधवप्रसाद घिमिरेको माथी साभार गरिएको कविताको याद दिलायो । माधवप्रसाद घिमिरेले यो कविता पूरै देश हेरेर लेख्नुभयो वा उहाँको सौन्दर्य वर्णनको कलाले यो सिर्जना जन्मायो त्यो त मलाई थाहा छैन तर साँच्चै नेपालको सौदन्यर्ताको सुन्दर वर्णन छ यसमा । हुन त यर्थाथ चित्रण नआए कसरी यति लोकप्रिय हुन्थ्यो होला कविता हुँदै गीत बनेको यो सिर्जना ।

खैर, मलाई मेरो यो पटकको मध्ये तथा सुदुर पश्चिमको सांगीतिक यात्राले मेरो देशलाई थप चिन्ने र बुझ्ने मौका प्रदान गर्यो । सुदुर र मध्यपश्चिमका गरागरा घुम्ने अवसर मात्रै अवसर मिलेन यहाँको सुन्दरतालाई आँखै अगाडि नियाल्ने सुन्दर मौका पनि प्राप्त भयो । 

साँच्चै सुन्दर छ नेपाल, रमाइला छन् यहाँका बस्ती र फाँटहरु । प्राकृतिले सुन्दर बनाइदिएको छ हाम्रो देशलाई । जति सुदुरपश्चिमलाई काठमाडौं केन्द्रले हेलाहोचो गर्छ त्यो भन्दा सयौं गुना राम्रो छ वास्तवमा मध्ये र सुदुर नेपाल । दश वर्षे जनयुद्धको उद्गम स्थल रोल्पा आँखामा राख्दा पनि नबिझाउने रहेछ । यहाँको प्राक्रितिक बनोट र मनोरम दृश्य हेरेर कहिल्यै थाकेनन् मेरा आँखा । 

नराम्रा हुन् त केवल यो ठाउँलाई हेर्ने आँखाहरु, नराम्रा हुन् त केबल यो सुुदुर मधेस तथा पहाडलाई हेलाहोचो गर्ने मानिसहरु । नराम्रो छ त केवल राजनीतिक नेतृत्व । जसले सँधै जनतालाई सपनाको भारी बोकायो । र, त्यही सपनाको भारीले किच्चिरहेका छन् आज पनि यहाँका नागरिक उठ्नै नसक्ने गरी । 

प्रत्येक चुनावमा नेताहरु आउँछन्, दिनदाहडै सपनाको ठूलो महल खडा गर्छन् र सुदुर र मध्येपश्चिमको सपनाको शहर काठमाडौं सवार हुन्छन् । समय सकिन्छ, चुनाव पूर्व खडा गरेको सपनाको महल सपनामै समिति हुन्छ । तर फेरि पनि उसैगरी आउँछ । सपनाको बिउ छर्नेहरु पनि उसैगरी आउँछन्, उयसैगरी सपनाको महल खडा गर्छन् र फेरि ५ वर्ष विलिन हुन्छन् । 

ती नेता मात्रै विलिन हुँदैनन् उनीहरुले देखाएको सपना पनि उनीहरुसँगै बिलिन हुन्छ । सपनाको ठूलो महल जनताको मनबाट पनि बिलिन हुन्छ रे १ मैले यो पटकको सांगीतिक यात्रामा मेरा दर्शक तथा स्रोतासँग गरेको साक्षात्कारबाट आएको निष्कर्ष हो यो । मैले मेरो ‘पपुलारिटी’का लागि यी शब्दहरु खर्चिएको हुँइन । राजनीतिज्ञलाई गाली गर्न मन लागेर पनि यो ब्लग लेखिरहेको छैन । वास्तविकता लुकाएर राख्न मात्रै नसकेको हुँ ।
ती सुन्दर मनहरुको प्रतिनिधि आवाज उठाएको मात्रै हुँ म । आश्वासनहरु व्यवाहारमा कार्यान्वयन नहुँदाको नागरिकको मनमा सिर्जित छटपटीलाई साटेको मात्रै हुँ । नागरिकमा आशा हुँदोरहेछ आफ्ना जनप्रतिनिधिप्रति । प्रजातान्त्रिक शासन व्यवस्थामा यो सायद स्वाभिक पनि हो । स्वाभाविक भन्दा पनि उनीहरुको हक हो आफ्ना जनप्रतिनिधिमार्फत आफ्नो ठाउँको विकास खोज्नु । तर, नेता नै गैरजिम्मेवार भएपछि के हुन्छ रु देशको विकास हुँदैन, जनताले दुःख भोग्नु पर्छ, अनि स्वर्ग जस्तो भूमि पनि वेकम्मा प्रायः हुन्छ । हुँदोरहेछ ।  

मैले यहाँ धेरै त्यस्ता प्राकृतिक ठाउँहरु देखेँ जसलाई सायद स्वर्ग भने हुन्छ । आखिर स्वर्ग भन्नु पनि राम्रो कुराको एउटा विम्बात्मक शब्द न हो । राम्रो कुरा चरितार्थ गर्न प्रयोग गरिने शब्द । यो शब्द सापडी लिएर बोलाउँदा हुन्छ मध्ये तथा सुदुरपश्चिमलाई । सायद कसैको आपत्ति नहोला ।  

त्यस्ता थुप्रै ठाउँहरु छन् यहाँ, जो यो क्षेत्रकै पहिचान हुन् । यही पहिचानलाई चिनेर यसको यर्थाथलाई परिचय दिन सके यही नै यहाँको सम्पत्ती हुनेछ । संघात्मक शासनमा राज्यको आम्दानीको मेख्य स्रोत हुनेछ । यही नै यहाँका नागरिकको भविश्य हुनेछ । 

कृषिका लागि उर्भर फाँटहरु छन् । र, त्यसमा खेल्ने किसानी हातहरु पनि तयार छन्, मात्रै चाहिएको अभिभाककीय राज्य हो । इमान्दार नेतृत्व र राष्ट्रसेवक हो । 
पर्यटक तान्ने मनोरम प्राक्रितिक छटाहरु भेटिन्छन्, मात्रै त्यसलाई उजागर गर्ने राज्य चाहिएको छ । 

यो कोरा कल्पनाको सपना मात्रै होइन । गरे विपनीमै सकिने कुरा हो । साथ दिने नागरिक मनहरु छन् । मात्रै राजनीतिक इच्छाशक्ति चाहिएको छ । श्रमदान गर्ने परोपकारी हातहरु छन् । मात्रै समन्वय गर्ने इमान्दार व्यक्ति चाहिएको छ । 

यसरी अरुलाई खबरदारी गरिरहँदा औंला म माथी पनि उठ्न सक्छन् । हामी कलाकारप्रति पनि प्रश्न उठ्न सक्छन् । र, यसलाई अन्यथाका रुपमा पनि म लिन्न । 
तर, हामीले सक्ने भनेको चेतनाका लागि गला बनाउने मात्रै रहेछ । अभिनय गर्ने मात्रै रहेछ । असल काम गर्ने राजनेतालाई र सरकारलाई सहयोग र खबरदारी गर्ने मात्रै रहेछ । आखिर देशको विकास गर्ने त राजनीतिक दल तथा दल निर्मित सरकारले नै रहेछ । 

नीति निर्माणमा रहेकाहरुकै हात हुनेरहेछ । हामीले सक्ने त हाम्रो कला संस्कृतिको जगेर्ना गर्ने मात्रै रहेछ । कलासंस्कृतिलाई थप मलजल गर्ने मात्रै रहेछ । त्यसलै मेरो आग्रह सके ‘यो सुन्दर शान्त नेपाल’ लाई अझ राम्रो बनाउँ । नसके कम्तिमा यथावत राखौँ ।